
नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले कम गतिको तथा सुपथ मूल्यका इन्टरनेट प्याकेज बन्द गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले विभिन्न कारणले यस्ता प्याकेज सञ्चालन गर्न कठिन भएको भन्दै आजदेखि सस्ता प्याकेज बन्द गर्ने घोषणा गरेको हो।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय सञ्चालन लागत बढ्दै गएको उल्लेख गरिएको छ। मध्यपूर्वमा देखिएको तनावका कारण इन्धन तथा फाइबरको मूल्य वृद्धि, अत्यधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढेपछि कम मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउन समस्या भएको सङ्घको दाबी छ।
सङ्घका अनुसार बढ्दो लागतको तुलनामा सस्तो दरमा उपलब्ध गराइँदै आएका इन्टरनेट प्याकेज सञ्चालन गर्न कठिन भएपछि ती प्याकेज बन्द गर्ने निर्णय गरिएको हो। यससँगै कम बजेटमा इन्टरनेट प्रयोग गर्दै आएका उपभोक्ताले आगामी दिनमा तुलनात्मक रूपमा महँगो वा उच्च गतिको प्याकेज रोज्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।


तर, निजी इन्टरनेट सेवा प्रदायकहरूको निर्णयप्रति उपभोक्ता अधिकारकर्मीहरूले असन्तुष्टि जनाएका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले सस्ता प्याकेज बन्द हुँदा विद्यार्थी, साना व्यवसायी तथा सीमित आय भएका उपभोक्ता प्रत्यक्ष प्रभावित हुने बताएका छन्। उनका अनुसार इन्टरनेट अहिले सूचना, शिक्षा, रोजगारी र व्यवसायसँग प्रत्यक्ष जोडिएको सेवा भएकाले सस्तो प्याकेज हटाउँदा नागरिकको सूचनामा पहुँचसमेत प्रभावित हुन सक्छ।
यसैबीच, निजी प्रदायकहरूले सस्ता प्याकेज बन्द गर्ने घोषणा गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटीसी) ले भने ब्रोडब्यान्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल कुनै परिवर्तन गर्ने योजना नरहेको जनाएको छ।






























