
नेपालमा हाल पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमसँगै गण्डकी तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ। कोशी, मधेस र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसमी प्रणालीको प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्यतया बदली भएको छ। अन्य भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कोशीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।


यस्तै, देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षाका कारण दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
आज राति हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्यतया बादल लाग्नेछ भने मधेससहित अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।
राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।






























