देउवा पक्षको दाबी : ‘विशेष महाधिवेशन’ वैधानिक छैन, दबाबमा नझुक्ने नै सच्चा कांग्रेस

Image
Nisarga Hospital

अत्तरिया । नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षले देशभर नगर अधिवेशन सुरु गरेको छ। सोही क्रममा कैलालीको गोदावरी नगरपालिकामा पनि नेपाली कांग्रेसको नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

गोदावरीमा आयोजित नगर अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्पबहादुर ओडको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमको अध्यक्षता पार्टीका गोदावरी नगर सभापति वीरबहादुर चोखाले गरेका थिए। अधिवेशनमा नेपाली कांग्रेसका विभिन्न तहका नेता, जनप्रतिनिधि, क्षेत्रीय तथा नगरस्तरीय पदाधिकारीसहित ठूलो संख्यामा नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

अधिवेशनका क्रममा सहभागी नेताहरूले नेपाली कांग्रेसको विशेष महाधिवेशनप्रति कडा आपत्ति जनाउँदै त्यसलाई कुनै पनि हालतमा वैधानिक मान्न नसकिने दाबी गरेका छन्। उनीहरूले पार्टी महामन्त्री गगन थापाले पार्टी विधान र स्थापित प्रक्रियाविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपसमेत लगाए।

nawajiwan
Attariya Hospital

देउवा पक्षका नेताहरूले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाउँदै अदालत र निर्वाचन आयोगसमेत प्रभावित पारेर प्रक्रिया अघि बढाइएको दाबी गरे। शेरबहादुर देउवा कमजोर बनेको अवस्थामा पार्टीको अभिभावकत्वलाई कमजोर पार्दै नेतृत्वमाथि नियन्त्रण कायम गर्ने प्रयास भइरहेको उनीहरूको आरोप थियो।
उनीहरूले पार्टीभित्रको विवाद समाधानका लागि विधि, विधान र लोकतान्त्रिक प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिए। कुनै पनि दबाब, प्रभाव वा परिस्थितिको सामना गर्दै विशेष महाधिवेशनमा सहभागी नभएकाहरू नै पार्टीको विधि र विधानप्रति प्रतिबद्ध सच्चा कांग्रेस भएको उनीहरूको दाबी थियो।

नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ भने अहिले बन्दसत्र चलिरहेको छ। बन्दसत्रबाट गोदावरी नगर कांग्रेसको नयाँ नेतृत्व चयन हुने बताइएको छ। नयाँ नेतृत्व चयनसँगै नगर तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता कायम गर्ने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत अधिवेशन केन्द्रित हुने अपेक्षा गरिएको छ।