दसैँ–तिहारमा कैलालीको सुरक्षा कडा, १ हजार १४६ प्रहरी परिचालन

Image
Nisarga Hospital

धनगढीः बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीमा सुरक्षा व्यवस्था थप कडा पारिने भएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, तस्करी, लागुऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्लाभर १ हजार १४६ जना प्रहरी परिचालन गरिने भएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुरक्षा संवेदनशीलता र जोखिमका आधारमा प्रहरी जनशक्ति विभिन्न स्थानमा परिचालन गरिनेछ। प्रहरीले मोबाइल तथा पैदल गस्ती, पिकेट, सादा पोशाकका प्रहरी, क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ तथा रिजर्भ टोली परिचालन गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चाडपर्वको समयमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत बढी भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइनेछ।

nawajiwan
Attariya Hospital

सम्भावित आपराधिक गतिविधिबारे सूचना संकलन तथा विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। यस्तै, जिल्लाका संवेदनशील क्षेत्र तथा प्रवेश–निकास नाकामा नियमितसँगै आकस्मिक चेकजाँचलाई समेत प्रभावकारी बनाइनेछ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा चोरी, तस्करी, लागुऔषध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाइने भएको छ। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायात र बसपार्क क्षेत्रमा समेत सुरक्षा निगरानीलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ।

यसैगरी, दसैँ–तिहार तथा छठमा घर फर्किने र बाहिर जाने यात्रुको सहजता तथा सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना, सहयोग तथा सुरक्षा सम्बन्धी सेवा उपलब्ध गराइने प्रहरीले जनाएको छ।