
काठमाडौं: दसैँ पर्वलाई लक्षित गर्दै सरकारले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले सरोकारवालासँगको बैठकपछि दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

यस वर्षको घटस्थापना असोज २५ गते परेको छ। दसैँमा ठूलो संख्यामा यात्रु राजधानी तथा विभिन्न सहरबाट गाउँघर फर्किने भएकाले यातायात सहज बनाउन रुट परमिट खुला गरिएको विभागले जनाएको छ।
यसअघि विभागले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको थियो। अग्रिम टिकट बुकिङ र रुट परमिट खुला भएसँगै दसैँमा घर फर्किने यात्रुलाई सार्वजनिक यातायातको पहुँच सहज हुने अपेक्षा गरिएको छ।


तर, सडकको विशेष प्रकृति वा सुरक्षाका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न निषेध गरिएका सडकमा भने उक्त प्रतिबन्ध कायमै रहने विभागले स्पष्ट पारेको छ। त्यस्ता सडकमा नियमविपरीत सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।
दसैँ अवधिमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सवारी सञ्चालन र यात्रु व्यवस्थापनमा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ।






























