
यस वर्षको बडादसैंअन्तर्गत विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार त्यस दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्न सकिनेछ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार साइतमै टीका लगाउन चाहनेका लागि उक्त समय निर्धारण गरिएको हो। विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउनेका लागि बिहान १०:२६ बजेको समय उत्तम रहेको उनले बताए। टीका थाप्दा पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।
यस वर्षको नवरात्र असोज २५ गते आइतबारदेखि सुरु हुँदैछ। घटस्थापनाका लागि बिहान ११:४७ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि आवश्यक शान्ति गर्नुपर्ने बताइएको छ।
दसैंको महत्वपूर्ण पर्वअन्तर्गत असोज २६ गते बिहान १०:०७ बजे झन्डा फेर्ने साइत रहेको छ। असोज २९ गते पचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते फूलपाती पर्व मनाइनेछ। फूलपातीका दिन बिहान ७:३७ बजे तुलजा भवानी यात्राको साइत र १०:३९ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको छ।
कात्तिक १ गते महाअष्टमी, राति कालरात्रि तथा कात्तिक २ गते अष्टमी तिथि परेको छ। कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमी मनाइनेछ। विजयादशमीकै दिन बिहान १०:५१ बजे तुलजा भवानी यात्राको साइत र ११:५२ बजे स्थिरासनमा राख्ने साइत रहेको समितिले जनाएको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ।
दसैंको समापनतर्फ कात्तिक ८ गते कोजाग्रतव्रत तथा पूर्णिमा व्रत पर्नेछ। सोही दिन बेलुकी महालक्ष्मीको पूजा–आराधना गरेपछि १५ दिन लामो दुर्गापक्ष अर्थात् दसैं पर्व औपचारिक रूपमा समापन हुनेछ। कात्तिक ९ गते कोजाग्रत पूर्णिमा परेको छ।
नेपालको राष्ट्रिय पर्वका रूपमा मनाइने दसैंमा देश–विदेशमा रहेका नेपालीहरू मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दसैं नजिकिएसँगै बजारमा चहलपहल र किनमेल बढ्न थालेको छ। सरकारले उपभोक्तालाई सहज बनाउन विभिन्न स्थानमा सुपथ मूल्य पसल समेत सञ्चालन गर्दै आएको छ।
दसैं धार्मिक आस्था र पारिवारिक पुनर्मिलनसँगै नेपाली समाजको सांस्कृतिक उत्सवका रूपमा समेत मनाइन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि विशेष महत्व राख्ने पर्वमा पिङ खेल्ने, चङ्गा उडाउने, मीठो खाने र नयाँ लुगा लगाउने परम्परा छ। देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने तथा विभिन्न स्थानमा देवीको पूजा, आराधना र बलिसहितका धार्मिक अनुष्ठानसमेत हुने गर्छन्।

































