दसैँको मुखमा खाली हात परदेशतिर : परिवारको खुसीका लागि गौरीफन्टाबाट भारत पस्दै सुदूरपश्चिमेली

Image
Nisarga Hospital

अत्तरियाः दसैँ नजिकिँदै छ। गाउँघरमा चाडपर्वको रौनक सुरु भएको छ। घरआँगनमा सरसफाइ, नयाँ लुगा किनमेल र परिवारसँगै दसैँ मनाउने तयारी चलिरहेको छ। तर, सुदूरपश्चिमको कैलालीस्थित गौरीफन्टा नाकामा भने दसैँको यो खुसीभन्दा बिल्कुल फरक दृश्य देखिन्छ। जहाँ अधिकांश नेपाली घर फर्किने तयारीमा छन्, त्यहीँ केहीका लागि भने दसैँ घर फर्किने होइन, रोजगारीको खोजीमा परदेश पस्ने समय बनेको छ।

CP Hospital Dhangadhi

नाकामा भारत जान लागेकाहरूका हातमा ठूला–ठूला सामान छैनन्। छन् त केवल साना झोला। तर ती झोलाभित्र उनीहरूले कपडासँगै परिवारको भविष्य, छोराछोरीको पढाइ, घरखर्च, ऋणको बोझ र अनेकौँ बाध्यता बोकेका छन्। दसैँको मुखमा घर छाडेर भारत जानु उनीहरूको रहर होइन। स्वदेशमै रोजगारी नपाएपछि पेट पाल्न र परिवार धान्न बाध्य भएर रोजेको बाटो हो।

बाजुराको हिमाली गाउँपालिका–३ का दिनेश थापाका लागि यसपटकको दसैँ पनि परदेशमै बित्ने भएको छ। घरमा आमाबुबा, श्रीमती र छोराछोरी छन्। खेतीपातीबाट वर्षभरि परिवारको खर्च धान्न कठिन भएपछि उनी भारततर्फ लागेका हुन्। “दसैँमा घरमै बसौँ भन्ने मन हुन्छ, तर घरको खर्च कसरी चलाउने ? यहाँ काम पाइँदैन। भारत गएपछि कमाएर घर पठाउन सकिन्छ,” उनले गौरीफन्टा नाकामा भने।

nawajiwan

भारत उनका लागि नयाँ गन्तव्य होइन। यसअघि पनि रोजगारीका लागि भारत गएका थिए। केही समय घर फर्किए पनि स्थायी आम्दानीको स्रोत नभएपछि फेरि उही बाटो समातेका छन्। बाजुराकै त्रिवेणी नगरपालिका–२ का भीम बिले पनि नेपालमै मासिक २०–२५ हजार रुपैयाँ कमाउने काम पाए भारत जानुपर्ने अवस्था नआउने बताए। “यहाँ काम खोज्दा पाइँदैन। घरमा बसेर के खाने ?” उनको प्रश्न छ।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जाने परम्परा पुरानो हो। निर्माण, होटल, सुरक्षा गार्ड, कारखाना, चौकीदारीदेखि घरेलु कामसम्म उनीहरूको श्रम भारतका विभिन्न सहरमा खपत हुँदै आएको छ। कतिपयको जीवन त वर्षौँदेखि यही चक्रमा घुमिरहेको छ—केही महिना गाउँमा, केही समय खेतीपाती र बाँकी समय रोजगारीका लागि परदेश।

धनगढी उपमहानगरपालिका–२ का शिवराम चौधरी पनि यही बाध्यताको अर्को उदाहरण हुन्। भारतमा जुत्ता कम्पनीमा मेसिन चलाउनेदेखि कार कम्पनीमा खाना पकाउनेसम्मका काम गरेका उनी नेपालमै केही गर्ने प्रयास असफल भएपछि पुनः भारत फर्किंदै छन्। “नेपालमा केही गर्छु भनेर धेरैपटक प्रयास गरेँ। एउटा कामले परिवार धान्न सकेन। त्यसपछि भारत जानुपर्‍यो,” उनी भन्छन्।

उनका अनुसार भारतमा दुःख भए पनि काम गरेपछि आम्दानी सुनिश्चित हुन्छ। नेपालमा कामको ग्यारेन्टी नहुँदा भारत जानुपर्ने अवस्था आएको उनको भनाइ छ। “भारतमा दुःख छ, तर काम गरेपछि पैसा आउँछ,” उनले भने।

Attariya Hospital

सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको यकिन तथ्यांक सरकारसँग छैन। खुला सीमाका कारण कति नेपाली भारत पुगे भन्ने तथ्यांक राख्न कठिन छ। कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाका नाकाबाट पनि ठूलो संख्यामा नेपाली रोजगारीका लागि भारत जाने गरेका छन्।

भारत पस्नेहरूमध्ये धेरै परिवार ऋणमा छन्। कसैलाई छोराछोरीको विद्यालय शुल्क तिर्नुपर्ने छ, कसैलाई घर निर्माणको ऋण तिर्नुछ भने कसैलाई दैनिक चुलो बाल्नकै लागि आम्दानी चाहिएको छ। बझाङको केदारस्युँ गाउँपालिका–३ का महेश धामी भन्छन्, “दसैँमा घर बसेर रमाइलो गर्न कसलाई मन हुँदैन र ? तर घरको अवस्था सम्झिएपछि जानैपर्छ।”

विडम्बना के छ भने, उनीहरूका लागि परदेशको कमाइ नै परिवारको दसैँको खुसी बन्ने गरेको छ। उनीहरू भारतमा पसिना बगाउँछन् र त्यही कमाइबाट घरमा नयाँ लुगा पुग्छ, छोराछोरीको शुल्क तिरिन्छ, घरखर्च चल्छ र ऋणको किस्ता बुझाइन्छ। आफू परिवारबाट टाढा भए पनि उनीहरूको श्रमले घरमा दसैँको दीप बल्छ।

यसरी हरेक वर्ष हजारौँ सुदूरपश्चिमेली रोजगारीका लागि भारत पसिरहँदा स्वदेशमै रोजगारी सिर्जना गर्ने चुनौती झन् गम्भीर बनेको छ। प्रदेश तथा स्थानीय तहले कृषि, उद्योग, पर्यटन र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्दै आएको बताए पनि भारत जानुपर्ने बाध्यता अन्त्य हुन सकेको छैन।

युवाहरूलाई स्वदेशमै रोक्ने गरी उत्पादनमूलक रोजगारी, उद्योग तथा स्वरोजगारका अवसर विस्तार गर्नुपर्ने युवा विद्यार्थी सन्तोष रावल बताउँछन्। उनका अनुसार चाडपर्वको मुखमा पनि युवाहरू घरमा परिवारसँग बस्न नसकी रोजगारीका लागि सीमापारि जानुपर्ने अवस्था सरकारका लागि गम्भीर सोचको विषय हो।

दसैँ घर फर्किने पर्व हो। तर गौरीफन्टाको बाटोमा उभिएका यी नेपालीका लागि भने दसैँले पनि परदेशको बाटो रोक्न सकेको छैन। उनीहरू घरको खुसी छाडेर आफ्ना परिवारको भोलि खोज्दै सीमापारि लागिरहेका छन्। उनीहरूको काँधमा रहेको सानो झोलाभन्दा धेरै भारी छ—परिवारको जिम्मेवारी र स्वदेशमा रोजगारी नपाएको पीडा।

रातोपाटीबाट केही शब्द अंश साभार