
आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आज साँझ ५ बजे बजेट प्रस्तुत गर्न लागेको हो। लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको प्रदेशमा आज बजेट सार्वजनिक भएसँगै आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ।

मंगलबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने गरी प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय गरेको थियो। सभामुख भीमबहादुर भण्डारीले बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाइएको जानकारी दिएका छन्।
प्रदेश सरकारले बजेट प्रस्तुत गरेपछि त्यसलाई प्रदेशसभाबाट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ। बजेट पारित भएसँगै सुदूरपश्चिमले लामो समयदेखि भोग्दै आएको बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

यसअघि गत असार १ गते तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेट विनियोजन तथा कार्यान्वयनका विषयमा सत्तारुढ दलभित्रै विवाद चर्किएपछि उक्त बजेट प्रदेशसभाबाट पारित हुन सकेन। बजेट पारित हुन नसक्दा प्रदेश सरकार आर्थिक वर्षको सुरुवातदेखि नै ठूलो संकटमा परेको थियो।

बजेट विवादकै कारण कांग्रेस नेतृत्वको तत्कालीन सरकार परिवर्तन भयो। नयाँ सरकार गठन भए पनि लामो समयसम्म बजेटसम्बन्धी समस्या समाधान हुन सकेन। साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा रहँदा नियमित प्रशासनिक कामदेखि विकास निर्माणका गतिविधिसम्म प्रभावित भएका थिए।
बजेट अभावका कारण सरकारी कार्यालय सञ्चालन, योजना कार्यान्वयन तथा भुक्तानी प्रक्रियामा समेत समस्या देखिएको थियो। प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीले लामो समयसम्म तलबसमेत नपाएको अवस्था बनेको थियो।
अब बजेट प्रस्तुत र पारित भएपछि प्रदेश सरकारका नियमित काम, विकास आयोजना तथा सार्वजनिक सेवा प्रवाहले गति लिने अपेक्षा गरिएको छ। लामो समयदेखि रोकिएका योजना तथा कार्यक्रम अघि बढाउने र प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने चुनौती भने सरकारसामु कायमै रहनेछ।






























