मनसुन बाहिरिँदै गर्दा देशभर मौसम अस्थिर, शुक्रबारसम्म वर्षा–हावाहुरीको सम्भावना

Image
Nisarga Hospital

मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभाव बढेपछि देशभरको मौसम अस्थिर बनेको छ। बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ। मौसममा देखिएको यो परिवर्तन आगामी केही दिनसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी तीन दिनसम्म मौसम पूर्णरूपमा स्थिर हुने अवस्था छैन। काठमाडौं उपत्यकामा बुधबार मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी विकसित भइरहेका वर्षा गराउने बादलका कारण छोटो समयमै तीव्र वर्षा र हावाहुरी हुनसक्ने मौसमविद्को भनाइ छ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभएको छ। नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा समेत हावाको गति बढेको छ। चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका वर्षा गराउने बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको मौसमविद्को भनाइ छ। वर्षा भएपछि हावाको गति भने क्रमशः घट्दै जाने अनुमान गरिएको छ।
बिहीबार मौसममा केही सुधार देखिए पनि पहाडी तथा तराईका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहनेछ। शुक्रबारसम्म बदली, मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने विभागले जनाएको छ। यद्यपि लगातार लामो समयसम्म वर्षा हुनेभन्दा छोटो अवधिमा तीव्र वर्षा हुने र केही समयपछि मौसम खुल्ने प्रकृतिको अवस्था रहने अनुमान गरिएको छ।
शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। मनसुन बाहिरिने क्रममा रहनुका साथै पश्चिमी वायुको प्रभावसमेत देखिएकाले देशभर एउटै किसिमको मौसम नरहेको मौसमविद् लामिछानेले बताउनुभएको छ। एक स्थानमा घाम लागिरहेका बेला अर्को स्थानमा मेघगर्जनसहित वर्षा हुने अवस्था देखिनुको मुख्य कारण पनि यही मौसमी प्रणाली रहेको विभागको भनाइ छ।
दसैँ नजिकिँदै गर्दा सर्वसाधारणको आवतजावत बढ्ने भएकाले मौसमको अवस्थाबारे विशेष ध्यान दिन आग्रह गरिएको छ। छोटो समयमै हावाहुरी, चट्याङ, असिना तथा तीव्र वर्षा हुनसक्ने भएकाले लामो यात्रामा निस्कनुअघि मौसम पूर्वानुमान तथा तत्कालीन मौसम सूचना हेर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital