
चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरण गर्न कैलालीमा प्रहरीले सुरक्षा निगरानीलाई थप कडाइ गरेको छ। यात्रुको चाप बढ्ने समयलाई लक्षित गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरी सवारीसाधन र यात्रुको निगरानी बढाएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार चाडपर्वलाई लक्षित गरी मुख्य सडक, बसपार्क तथा यात्रुको बढी आवतजावत हुने क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरीले सवारीसाधन जाँचसँगै चालकको अवस्था, आवश्यक कागजात तथा सवारीसाधनको अवस्थाबारे समेत निगरानी गरिरहेको जनाएको छ।
सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ। शंकास्पद वस्तु तथा गतिविधिको पहिचान गर्न कुकुर प्रयोग गरी यात्रु तथा सवारीसाधनको निगरानी भइरहेको प्रहरीले जनाएको छ। विशेषगरी लागुऔषध, अवैध सामग्री तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा जाँचलाई कडाइ गरिएको हो।


प्रहरीले चालकले मादक पदार्थ सेवन गरे–नगरेको, सवारी चालक अनुमतिपत्र तथा अन्य आवश्यक कागजात भए–नभएको समेत जाँच गरिरहेको छ। त्यस्तै, तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि विशेष निगरानी राखिएको छ।
चाडपर्वको समयमा सडकमा सवारीको चाप बढ्ने भएकाले दुर्घटना रोकथामका लागि चालक र यात्रु दुवैलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ। प्रहरीले ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गरेको छ।






























