
दार्चुलाः दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै बस सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बुधबार गाउँपालिकाको बस सेवाको औपचारिक उद्घाटन गर्दै सेवा सञ्चालनमा ल्याएका हुन्।

गाउँपालिकाले खरिद गरेको बस सञ्चालनमा आएसँगै दुहुँका स्थानीयलाई दैनिक आवतजावत तथा विभिन्न कामका लागि यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार बस वडा नम्बर ५ को चल्लेगाडादेखि महाकाली नगरपालिका–४ स्थित रिङनतालसम्म सञ्चालन हुनेछ। उक्त रुटमा बसले दैनिक दुईपटक सेवा दिने व्यवस्था मिलाइएको छ।
गाउँपालिका अध्यक्ष बडालका अनुसार आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार स्थानीय यातायातलाई व्यवस्थित र नागरिकमैत्री बनाउन बस खरिद गरिएको हो। गाउँपालिकाले दुईवटा बस खरिदका लागि बजेट विनियोजन गरे पनि एउटा बसको मूल्य नै ५८ लाख रुपैयाँ पर्ने भएपछि तत्काल एउटा मात्रै बस खरिद गरिएको उनले बताए।


दुईवटा बस खरिदका लागि गाउँपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, उपलब्ध बजेटअनुसार एउटा बस खरिद गरी बाँकी रकम अन्य आवश्यक विकास तथा सार्वजनिक सेवाका क्षेत्रमा खर्च गर्ने निर्णय गरिएको अध्यक्ष बडालले जानकारी दिए।
गाउँपालिकाले आफ्नै बस सेवा सञ्चालनमा ल्याएपछि दुहुँका नागरिकलाई विशेषगरी सदरमुकाम तथा आसपासका क्षेत्रमा आवतजावत गर्न थप सहज हुने विश्वास गरिएको छ। नियमित र सुलभ यातायात सेवाले स्थानीयको समय तथा खर्च बचत हुनुका साथै सार्वजनिक सेवामा पहुँचसमेत बढ्ने अपेक्षा गरिएको छ।






























