
लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरे पनि अन्तिम समयमा प्रक्रिया अन्योलमा परेको छ। प्रदेशसभाले बजेट प्रस्तुत गर्न साँझ ५ बजे बैठक बोलाइसकेको अवस्थामा समेत मन्त्रिपरिषद्बाट बजेट स्वीकृत गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन।

बजेट प्रदेशसभामा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने संवैधानिक प्रक्रियाका कारण निर्धारित समयमै बजेट प्रस्तुत हुनेमा अन्योल देखिएको हो। अपराह्नसम्म पनि मन्त्रिपरिषद् बैठकको समय टुंगो लाग्न नसकेको प्रदेश सरकारका एक मन्त्रीले बताएका छन्। बजेटका विषयमा सहमति जुटाउने प्रयास भइरहेकाले बैठक बोलाउन ढिलाइ भएको उनको भनाइ छ।
आर्थिक मामिला मन्त्रालयले बजेट वक्तव्य, रातो किताब, कार्यक्रम पुस्तिका, विनियोजन विधेयक तथा आर्थिक विधेयक तयार गरेपछि मन्त्रिपरिषद्को स्वीकृति लिनुपर्ने हुन्छ। स्वीकृतिपछि आवश्यक कागजात छपाइ गरी प्रदेशसभा सदस्यलाई वितरण गर्नुपर्ने भएकाले छोटो समयमा सबै प्रक्रिया पूरा गर्न चुनौती देखिएको छ।


बजेट निर्माणमा सहभागी अधिकारीका अनुसार मन्त्रिपरिषद् बैठक, स्वीकृति, कागजात छपाइ तथा सांसदलाई वितरणलगायतका कामका लागि कम्तीमा केही घण्टा आवश्यक पर्छ। यसअघि सबै मन्त्रालयले प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (PLMBIS) मा योजना तथा कार्यक्रम प्रविष्ट गर्ने काम पूरा गरिसकेका थिए।
तर बजेटमा योजना तथा कार्यक्रमको भागबन्डालाई लिएर विभिन्न पक्षबाट दबाब र असन्तुष्टि कायमै रहेकाले अन्तिम तयारी प्रभावित भएको स्रोतको दाबी छ। यससँगै बुधबार साँझ ५ बजे बजेट प्रस्तुत गर्ने सरकारको पूर्वनिर्धारित कार्यक्रम कार्यान्वयन हुनेमा अन्योल बढेको छ। लामो समयदेखि बजेटविहीन सुदूरपश्चिममा यसले प्रदेश सरकारमाथि थप दबाब सिर्जना गरेको छ।






























