
देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली हुनुका साथै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा कोशी र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली भएको छ।
हाल गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने थोरै स्थानमा चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
तराई क्षेत्रमा पनि मौसम पूर्णरूपमा सफा नहुने देखिएको छ। मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। आज राति कोशी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
































