
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश)को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।

नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै हवाई टिकटको भाडा बढाइएको भन्दै यात्रुबाट गुनासो आएपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो देखाएका थिए। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको थियो।
छलफलका क्रममा वायुसेवा कम्पनीहरूले यात्रुलाई राहत पुग्ने गरी स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री तथा वितरण गर्ने सहमति जनाएका हुन्। क्यानका अनुसार चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले हवाई यात्रुलाई सहज र पहुँचयोग्य बनाउन भाडा घटाउने विषयमा सहमति जुटाइएको हो।


क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र उक्त भाडादरसम्बन्धी सूचना आफ्ना बिक्री तथा वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति गरेका छन्।
यस निर्णयसँगै चाडपर्वका बेला हवाई यात्रामा देखिएको महँगो भाडाको समस्या केही हदसम्म सम्बोधन हुने अपेक्षा गरिएको छ। साथै यात्रुले विभिन्न कम्पनीका टिकटको मूल्यबारे सहजै जानकारी लिन सक्ने क्यानले जनाएको छ।






























