
नजिकिँदो चाडपर्वका बेला हवाई भाडा बढाइएको गुनासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सम्बन्धित वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर गरेको छलफलमा भाडा घटाउने सहमति भएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले बुधबार वायुसेवा कम्पनीसँग छलफल गरेको जनाएको छ।
छलफलमा स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने सहमति भएको छ। साथै, छुटसहितको नयाँ भाडादरबारे यात्रुलाई स्पष्ट जानकारी दिने गरी सम्बन्धित वायुसेवा कम्पनीका बिक्री तथा वितरण प्लेटफर्ममा सूचना प्रकाशित गर्ने निर्णय भएको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र त्यसको मौका छोपेर हवाई भाडा अस्वाभाविक रूपमा बढ्ने गरेको गुनासो लामो समयदेखि हुँदै आएको छ। नयाँ सहमतिले विशेषगरी दसैं–तिहारका बेला हवाई यात्रा गर्ने यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। क्यानले सहमतिअनुसार भाडा कार्यान्वयन भए–नभएको समेत निगरानी गर्ने जनाएको छ।
































