
देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी र असिनाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली भूभाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षा, चट्याङ, हावाहुरी तथा असिनाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन आग्रह गरिन्छ।































