दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

Image
Nisarga Hospital

दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा घर फर्किने यात्रुको भीड लागेको छ।

CP Hospital Dhangadhi

दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुको चाप बढ्न थालेको हो। अग्रिम टिकट बुकिङ खुल्ने समय नजिकिँदै गर्दा यात्रुहरू टिकट काट्न नयाँ बसपार्क पुग्न थालेका छन्। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले टिकट व्यवस्थापनलाई सहज बनाउन आवश्यक तयारी गरिएको सम्बन्धित पक्षले जनाएको छ।

नयाँ बसपार्कमा यात्रुको चाप व्यवस्थापन तथा टिकट वितरणलाई व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले १५ वटा टिकट काउन्टर थप गरेको छ। यात्रुले सहज रूपमा टिकट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले थप काउन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

nawajiwan

त्यसैगरी, टिकट लिन आउने यात्रुको सुरक्षा र व्यवस्थापनका लागि आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीको भनाइ छ। दशैंका बेला यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट वितरणलाई व्यवस्थित बनाउन यातायात व्यवसायी तथा सम्बन्धित निकायले सहकार्य गरिरहेका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

दशैंमा घर जाने यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा सेवा उपलब्ध गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरिएको हो। यात्रुलाई सम्भव भएसम्म अग्रिम टिकट लिएर मात्र यात्रा गर्न तथा टिकट खरिद गर्दा आधिकारिक काउन्टरबाटै टिकट लिन आग्रह गरिएको छ।