दशैंमा उपभोक्तालाई राहत : सुदूरपश्चिमका ८ स्थानमा सहुलियत पसल, चिनी किलोको १०० रुपैयाँ

Image
Nisarga Hospital

धनगढीः चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशका आठ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीका विभिन्न स्थानमा पसल सञ्चालन गरी उपभोक्तालाई बजार मूल्यभन्दा सस्तोमा खाद्यवस्तु उपलब्ध गराउन थालेको हो।

CP Hospital Dhangadhi

साल्ट ट्रेडिङका अनुसार कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेलधुरा तथा बैतडीको पाटनमा सहुलियत मूल्य पसल सञ्चालन भइरहेका छन्।

यी पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ। बजार मूल्यभन्दा प्रतिकिलो २५ रुपैयाँसम्म सस्तोमा चिनी उपलब्ध हुन थालेपछि खरिद गर्ने उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङले जनाएको छ।

nawajiwan

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख रूपबहादुर कुँवरका अनुसार तराईका सहुलियत पसलबाट एक जना उपभोक्तालाई पाँच किलोसम्म र पहाडी जिल्लाका पसलबाट तीन किलोसम्म चिनी बिक्री गर्ने व्यवस्था गरिएको छ। धनगढीस्थित कार्यालय परिसरमा रहेको पसलबाट मात्रै दैनिक करिब २५ क्विन्टल चिनी बिक्री भइरहेको उनले जानकारी दिए।

चिनीमा मात्रै नभई अन्य दैनिक उपभोग्य वस्तुमा समेत सहुलियत उपलब्ध गराइएको छ। सहुलियत पसलमा नुन प्रतिकिलो २४ रुपैयाँमा बिक्री भइरहेको छ भने दाल, चामल र चिउरामा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइएको छ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने र त्यसले बजार मूल्यमा समेत प्रभाव पार्न सक्ने भएकाले उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ।

यी पसल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेका छन्। चाडपर्वमा सीमित नभई वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नुपर्ने उपभोक्ताको माग छ। नियमित रूपमा यस्ता पसल सञ्चालन गर्न सके दैनिक उपभोग्य वस्तु खरिदमा सर्वसाधारणको खर्च घट्नुका साथै बजार मूल्य नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।