
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज आश्विन कृष्ण औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गरी समापन गरिँदैछ। हिन्दू धर्मशास्त्रअनुसार पितृ पक्षमा दिवंगत पितृको सम्झना गर्दै श्रद्धा र भक्तिपूर्वक श्राद्ध गर्ने धार्मिक परम्परा छ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाको बुबाको श्राद्धसमेत गरी १६ दिनसम्म श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध गरिन्छ। यस अवधिमा कुनै कारणवश अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। त्यस अवधिमा पनि सम्भव नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने धार्मिक मान्यता छ। त्यतिबेला पनि गर्न नसकिए वृश्चिक सङ्क्रान्तिसम्म उपयुक्त समय मिलाएर श्राद्ध गर्न सकिने उनले बताए।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार निर्णयसिन्धु र धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा श्राद्ध गर्न छुटेका अवस्थामा विभिन्न वैकल्पिक तिथि र योगको व्यवस्था उल्लेख गरिएको छ। त्यसपछि पनि श्राद्ध गर्न नसकिए सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रको दैनिक १०८ पटक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी दिए।
पितृ पक्षका अवसरमा काठमाडौं उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध र तर्पण गर्नेहरूको भीड लाग्ने गर्छ।
पितृ पक्षको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक माहोल सुरु हुन्छ। असोज २५ गते घटस्थापना गरेसँगै यस वर्षको दुर्गा पक्ष प्रारम्भ हुने उल्लेख गरिएको छ।
































