
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ। आचरणविपरीत कार्य गरेको, पटक–पटक अनुशासन उल्लंघन गरेको तथा नेपाल सरकार र आफू कार्यरत संगठनको मान, प्रतिष्ठा एवं छविमा आँच पुर्याएको कसुरमा उनलाई विभागीय कारबाहीस्वरूप सेवाबाट हटाइएको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाउने निर्णय गरिएको उल्लेख छ।
यसअघि सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहाललाई निलम्बन गरिएको थियो। सशस्त्र प्रहरी बल, नेपालले दाहालले संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गते उनलाई निलम्बन गर्दै घटनाको छानबिनका लागि जाँचबुझ अधिकृतसमेत तोकेको थियो। छानबिन तथा विभागीय प्रक्रियापछि मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो।
दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको भेटघाटका विषयमा पनि विवादमा परेका थिए। प्रहरी नियन्त्रणमा रहेका जबरालाई दाहालले असोज ११ गते बिहान टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर भेटेको आरोप लागेको थियो। उक्त भेटघाटलाई लिएर संगठनको ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको भन्दै उनीमाथि प्रश्न उठाइएको थियो।
यस विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले दाहालसँग स्पष्टीकरणसमेत मागेको थियो। त्यसपछि संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बन र छानबिन प्रक्रिया अघि बढाइएको थियो।
गृह मन्त्रालयको पछिल्लो निर्णयसँगै सशस्त्र प्रहरी बलका उच्च अधिकारी दाहालमाथिको विभागीय कारबाहीले निष्कर्ष पाएको छ। मन्त्रालयले भने उनलाई सेवाबाट हटाउनुका आधारमा आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको प्रतिष्ठामा आँच पुर्याउने कार्यलाई उल्लेख गरेको छ।































