आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे

Image
Nisarga Hospital

नेपालीको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धार्मिक विधि, पूजाआजा र पारिवारिक जमघटका साथ मनाइन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधनासहित घटस्थापना गरिँदैछ।

CP Hospital Dhangadhi

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। आज सूर्योदयकालमा प्रतिपदा तिथि परेकाले घटस्थापना गर्ने निर्णय गरिएको समितिले जनाएको छ। चित्रा नक्षत्रका कारण मध्याह्नकालको अभिजित् मुहूर्तलाई घटस्थापनाको साइत निर्धारण गरिएको हो।

घटस्थापनाका दिन पूजा कोठा वा दसैँ घरलाई शुद्ध गरी बालुवा वा माटो राखेर त्यसमा जौँ रोप्ने परम्परा छ। यसरी रोपिएको जौँलाई जमरा भनिन्छ। विजयादशमीका दिन जमरा, टीका र प्रसाद ग्रहण गरिन्छ। जमरालाई समृद्धि, सुख र सौभाग्यको प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ। धर्मशास्त्रविद्हरूका अनुसार शास्त्रीय विधिमा जमरा राख्दा जौँको प्रयोग गरिन्छ। जमरा आयुर्वेदिक औषधिमा समेत प्रयोग हुँदै आएको छ।

nawajiwan

नौ दिन नौ दुर्गाको पूजा

बडादसैँको नवरात्र अवधिमा दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष आराधना गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गरिन्छ। यस अवधिमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठपारायण गर्ने चलन छ। दुर्गा देवीको प्रतीकका रूपमा नौ दिनसम्म नौवटी कन्याको पूजा गर्ने परम्परा पनि रहेको छ।

बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यो पर्व कुनै जाति वा धर्म विशेषमा मात्र सीमित नभई समग्र मानव समुदायका लागि महत्त्वपूर्ण रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।

फूलपातीदेखि विजयादशमीसम्म विशेष पूजा

बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्परा छ। महाअष्टमी र महानवमीका दिन दसैँ घर, कोत तथा शक्तिपीठमा विशेष पूजाआजा गरिन्छ। परम्पराअनुसार बलि दिने स्थानमा बलिसहित पूजा गर्ने चलनसमेत छ। नवरात्रभर देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौंका नक्साल भगवती र शोभा भगवती, नालाको भगवती तथा पलाञ्चोक भगवतीलगायत शक्तिपीठमा विशेष पूजा आराधना गरिन्छ।

काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँ घरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा भवानीको पूजा आराधना सुरु गरिन्छ। त्यहाँ परम्पराअनुसार वैदिक विधिबाट पूजा तथा हवन गरी घटस्थापना गर्ने गरिन्छ।

कात्तिक ४ गते विजयादशमी, बिहान १०:२६ बजे टीकाको साइत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। उक्त दिन देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा र टीका प्रसाद ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले जनाएको छ।

विजयादशमीका दिन मान्यजनबाट निधारमा टीका लगाई जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म आफन्त तथा मान्यजनसँग भेटघाट गरी टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक विश्वास पनि छ। घटस्थापनाका दिन राखिएको जमरा उक्त दिन विधिपूर्वक विसर्जन गर्ने चलन रहेको छ।

घर फर्कनेको चहलपहल बढ्दै

बडादसैँलाई धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा घरबाहिर रहेका नेपाली दसैँ मनाउन आफ्नो थातथलो फर्कने गर्छन्। यसले परिवार तथा आफन्तबीच भेटघाट र आत्मीयता बढाउने अवसर प्रदान गर्छ।

दसैँका अवसरमा अधिकांश शैक्षिक संस्थाले बिदा दिने भएकाले राजधानी काठमाडौंलगायत प्रमुख सहरी क्षेत्रबाट गाउँघर फर्कने यात्रुको चहलपहल बढेको छ। परिवारसँग बसेर मीठोमसिनो खाने, मान्यजनबाट आशीर्वाद लिने र परम्परागत संस्कारलाई निरन्तरता दिने चलनले बडादसैँलाई नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ।