
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। उपसभापतिको खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा १ हजार १७९ मत गणना हुँदा भण्डारीले ६२३ मत प्राप्त गरेका छन्।

खुलातर्फ ई. मधु आचार्यले ३४३ मत प्राप्त गरेका छन्। त्यस्तै, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा. डा. चन्द्रमोहन यादवले १२६ मत प्राप्त गरेका छन्।
उपसभापतिको महिला एक पदमा भने पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन्। खुलातर्फ दुई पदका लागि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

यसैगरी, समावेशीतर्फ उपसभापतिको एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले अग्रता लिएका छन्। उनले ३४७ मत प्राप्त गर्दा जीवन परियारले २८७, फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रञ्जित कर्णले ९८ मत प्राप्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा भएको निर्वाचनको मतगणनालाई चासोका साथ हेरिएको छ। उपसभापतिका विभिन्न पदमा उम्मेदवारबीच प्रतिस्पर्धा जारी रहेकाले बाँकी मतगणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक हुनेछ।































