सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्य चिनाउन धनगढीको अभियान, २१ वटा बुकलेट विमोचन

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेशका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन गरिएको छ।

CP Hospital Dhangadhi

धनगढीको जेन्जी मार्गमा एलईडी बोर्ड उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले अभियानअन्तर्गत तयार पारिएका बुकलेट विमोचन गरेका हुन्। बुकलेटमा सुदूरपश्चिमका धार्मिक आस्थाका केन्द्र, ऐतिहासिक सम्पदा तथा पर्यटकीय महत्त्व बोकेका स्थलहरूको परिचय र विशेषता समेटिएका छन्।

विमोचित बुकलेटमा रामारोशन क्षेत्र, सालमुनी, पादुका त्रिवेणी धाम, वैद्यनाथ धाम, भागेश्वर मन्दिर, पञ्चदेवल विनायक, जगन्नाथ मन्दिर, पाताल भुवनेश्वर, भुइँया, अमरगढी किल्ला, शैल्य शिखर मालिकार्जुन मन्दिर, उदयदेव मन्दिर, अजमेरकोट, त्रिपुरा सुन्दरी, उग्रतारा मन्दिर, बेहडाबाबा धाम, घटालबाबा, पद्म प्रकाशेश्वर महादेव, शिवपुरी धाम, गुम्बा तथा देवथानलगायतका गन्तव्य समेटिएका छन्।

nawajiwan

यसअघि अपि हिमाल र शैलेश्वरीका विषयमा बुकलेट प्रकाशन भइसकेका छन्। पछिल्लो पटक २१ वटा बुकलेट विमोचन भएसँगै उपमहानगरपालिकाले अभियानअन्तर्गत हालसम्म कुल २३ वटा बुकलेट प्रकाशन गरेको जनाएको छ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्यको पहिचान स्थापित गर्नु अभियानको मुख्य उद्देश्य हो। बुकलेटमार्फत सुदूरपश्चिमको मौलिक संस्कृति, धार्मिक महत्त्व, ऐतिहासिक विरासत र प्राकृतिक आकर्षणबारे जानकारी प्रवाह गरिने अपेक्षा गरिएको छ।

यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकलाई सुदूरपश्चिम भ्रमणका लागि आकर्षित गर्नुका साथै प्रदेशको पर्यटन सम्भावना उजागर गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्र, रोजगारी र व्यवसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।