
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा चिनियाँ सवारीसाधन निर्माता चाङ्गानका विद्युतीय गाडीको नयाँ शोरूम सञ्चालनमा आएको छ। चाङ्गान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक डिलर ग्लोबल प्रालिले शोरूम सञ्चालनमा ल्याएको हो।

शोरूम उद्घाटनसँगै कम्पनीले नयाँ विद्युतीय एसयूभी चाङ्गान नेभो क्यू०५ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसको अल्ट्रा संस्करणको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। नयाँ गाडीका विशेषता, प्रविधि र ड्राइभिङ अनुभवबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले असोज २६ देखि २९ गतेसम्म चारदिने परीक्षण सवारी कार्यक्रमसमेत आयोजना गरिएको छ।
कम्पनीका अनुसार नेभो क्यू०५ सहरी आवागमन तथा पारिवारिक यात्रालाई लक्षित गरी तयार पारिएको विद्युतीय एसयूभी हो। यसमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर र ४८.८ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी परीक्षण मापदण्डअनुसार ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

गाडीमा सीएटीएल कम्पनीको ‘गोल्डेन सिल्ड २.०’ ब्याट्री प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट घण्टा रहेको जनाइएको छ।
नेभो क्यू०५ मा फराकिलो भित्री भाग, आरामदायी यात्राका लागि पर्याप्त ठाउँ र ४८० लिटर क्षमताको सामान राख्ने भाग रहेको कम्पनीले जनाएको छ। गाडीको दुई पाङ्ग्राबीचको दूरी २ हजार ६३५ मिलिमिटर छ। यसको डिजाइन फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकियोराको नेतृत्वमा तयार गरिएको तथा ‘गोल्डेन ए डिजाइन अवार्ड’ प्राप्त गरेको कम्पनीको भनाइ छ।
कृष्णदेव उप्रेती र हितेश ओझाको नेतृत्वमा स्थापित ग्लोबल प्रालिले धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय सवारीसाधनको बिक्री, परीक्षण सवारी र बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। नयाँ शोरूम सञ्चालनसँगै सुदूरपश्चिममा विद्युतीय सवारीसाधनको पहुँच विस्तार तथा ग्राहकलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।
































