
देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिमसहित विभिन्न प्रदेशको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। लुम्बिनीको हिमाली क्षेत्रमा पनि बदली रहेको छ भने तराईमा मौसम मुख्यतया सफा छ। गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।







































