दसैँ सुरु भएसँगै गाउँघरमा पिङको रौनक हराउँदै, मौलिक संस्कृति जोगाउने चिन्ता

Image
Nisarga Hospital

अत्तरिया: नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि घटस्थापनासँगै सुरु भएको छ। दसैँको आगमनसँगै गाउँघरमा चहलपहल बढ्न थाले पनि दसैँको उमङ्ग र मौलिक संस्कृतिसँग जोडिएको परम्परागत पिङ भने हराउँदै जान थालेको छ। कुनै समय दसैँको पहिचानकै रूपमा रहेको लिङ्गेपिङ र रोटेपिङ अहिले गाउँघरमै समेत कम देखिन थालेका छन्।

CP Hospital Dhangadhi

रोजगारी तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका नेपालीहरू मान्यजनको हातबाट टीका थाप्न जन्मघर फर्किरहेका छन्। आफन्त र साथीभाइसँगको भेटघाटले दसैँको खुसी बढाए पनि परम्परागत संस्कृतिको संरक्षणमा चासो घट्दै जाँदा पर्व पहिलेको जस्तो रमाइलो हुन छाडेको स्थानीयको अनुभव छ।

चार वर्षअघि रोजगारीका लागि भारतको ब्याङ्गलोरबाट फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले पुराना साथीभाइसँग भेट हुँदा रमाइलो लागे पनि चाडपर्वसँग जोडिएका मौलिक परम्परा हराउँदै जाँदा दसैँ खल्लो महसुस हुने बताए।

nawajiwan

आलिताल गाउँपालिका–४ का जोगराज भट्टका अनुसार पहिले पिङ राख्ने ठाउँमा टोलका सबै मानिस भेला हुन्थे। वर्षौंसम्म नभेटिएका साथीभाइबीच भेटघाट हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मले पिङ खेलेर मनोरञ्जन लिने गर्थे। अहिले गाउँघरमै पिङ राख्ने चलन घट्दा दसैँको रौनकसमेत कम हुँदै गएको उनको भनाइ छ।

अमरगढी नगरपालिका–३ की गीताञ्जली साउदले पनि पहिले टोलटोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा खोज्नुपर्ने अवस्था आएको बताइन्। उनका अनुसार सार्वजनिक स्थानको अभाव, मनोरञ्जनका आधुनिक विकल्प र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत पिङप्रति आकर्षण घट्दै गएको छ।

अजयमेरु गाउँपालिका–३ का ८५ वर्षीय पदम एडी पुराना दिन सम्झँदै पहिले दसैँ आउनुभन्दा एक साताअघि नै पिङ बनाउन बाँस काट्ने, लिङ्गा खोज्ने र बाबियोबाट डोरी बाट्ने काम सुरु हुने गरेको बताउँछन्। अहिले ती परम्परा नयाँ पुस्ताका लागि नौलो बन्दै गएको उनको अनुभव छ।

परम्परागत रूपमा चारैतिर बाँस गाडेर बाबियोको लठारो प्रयोग गरी बनाइने लिङ्गेपिङलाई सयपत्री र लालुपाते फूलले सजाउने चलन थियो। दसैँको टीकाका दिन कम्तीमा एकपटक पिङ खेलेर जमिन छाड्नुपर्ने जनविश्वाससमेत रहिआएको छ।

अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडपर्वसँग जोडिएका मौलिक परम्परा हराउँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरे। मानिसहरू सामाजिक सञ्जालमा बढी व्यस्त हुँदा परम्परागत संस्कृतिप्रति चासो घटेको उनको भनाइ छ।

आधुनिकतासँगै मनोरञ्जनका माध्यम फेरिए पनि पिङजस्ता मौलिक परम्पराले परिवार, छिमेकी र समुदायलाई जोड्ने भूमिका खेल्दै आएका छन्। त्यसैले नयाँ पुस्तालाई यस्ता संस्कृतिको महत्त्व बुझाउँदै संरक्षण गर्न सके मात्रै दसैँको मौलिक रौनक आगामी पुस्तासम्म जोगाउन सकिने देखिन्छ।