
हिन्दु धर्मशास्त्रअनुसार बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान् श्रीहरि विष्णुको पूजा आराधना गर्ने विशेष दिन हो। धार्मिक मान्यताअनुसार यस दिन व्रत बसेर विधिपूर्वक पूजा गर्नाले धन, सन्तान, विद्या र सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। यस दिन भगवान् विष्णुकी पत्नी माता लक्ष्मीको समेत पूजा आराधना गर्ने परम्परा छ।

बिहीबारको व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नु शुभ मानिन्छ। विशेषगरी त्यस दिन अनुराधा नक्षत्र परेमा व्रतको महत्त्व अझ बढ्ने धार्मिक विश्वास छ।
कसरी गर्ने पूजा?

बिहीबार बिहान सबेरै उठेर स्नान गरी शुद्ध पहेँलो वस्त्र धारण गर्ने परम्परा छ। त्यसपछि भगवान् विष्णु तथा बृहस्पतिको पूजा गरी पहेँलो फूल, चन्दनलगायत पूजासामग्री अर्पण गरिन्छ। यस दिन ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप्ने धार्मिक मान्यता पनि छ।
परम्पराअनुसार बिहीबारको व्रत लगातार १३ महिना वा कम्तीमा सात महिनासम्म बस्ने गरिन्छ। श्रद्धा र भक्तिपूर्वक पूजा तथा व्रत गर्नाले भगवान्को कृपा प्राप्त भई परिवारमा सुख, शान्ति र समृद्धि कायम रहने धार्मिक विश्वास छ।



































