
जेनजी अभियन्ता रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात तथा खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले क्षमताभन्दा बढी यात्रु बोकेर सञ्चालन भइरहेका बस र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपर्ने अवस्थाप्रति प्रश्न उठाउँदै सरकारको कार्यक्षमतामाथि नै प्रश्न गरेकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले नागरिकले दैनिक जीवनमा भोगिरहेका यस्ता समस्या समाधान गर्न दशकौँ कुर्नुपर्ने अवस्था नरहेको बताएकी छन्। सामान्य सुधारका कामसमेत समयमै हुन नसकेको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
‘यस्ता समस्याको सुधारका लागि ३०–३५ वर्ष पक्कै लाग्दैनथ्यो होला । सायद ६ महिनामै पनि केही न केही गर्न सकिने काम थियो यो । तर भएन,’ उनले लेखेकी छन्।
नागरिकका दैनिक समस्या समाधान गर्ने अपेक्षासहित जनताले मत दिएको उल्लेख गर्दै बमले सरकारको काम गर्ने क्षमता र सुधारको प्रतिबद्धताको मूल्याङ्कन भइरहेको चेतावनीसमेत दिएकी छन्।


‘नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले । अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है,’ उनले लेखेकी छन्।
सरकारले नागरिकका आधारभूत समस्या समाधानमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले जनतालाई सामान्य रूपमा नलिन पनि सचेत गराएकी छन्। ‘यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्,’ बमको टिप्पणी छ।
दसैँजस्तो चाडमा घर फर्किने यात्रुले सुरक्षित यात्रा र उचित मूल्यमा गुणस्तरीय खाना पाउनुपर्ने विषय उठाउँदै उनले सरकारलाई नागरिकका वास्तविक समस्या सम्बोधन गर्न अप्रत्यक्ष रूपमा दबाब दिएकी छन्।


































