नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

Image
Nisarga Hospital

दुर्गा पक्ष अर्थात् बडादसैँको नवरात्रअन्तर्गत आज छैटौँ दिन नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन वैदिक सनातन धर्मावलम्बीले दसैँ घर तथा पूजा कोठामा कात्यायनी देवीको पूजा गर्ने परम्परा छ।

CP Hospital Dhangadhi

पौराणिक मान्यताअनुसार कात्यायनी देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा प्रकट भएकी थिइन्। उनको बाल सौन्दर्यबाट प्रभावित भएर ऋषि कात्यायनले पुत्रीका रूपमा स्वीकार गरेको धार्मिक ग्रन्थमा उल्लेख छ। त्यसैका आधारमा उनको नाम कात्यायनी रहेको विश्वास गरिन्छ। देवी कात्यायनीलाई शक्ति, साहस र दुष्ट शक्तिको विनाश गर्ने देवीका रूपमा पूजाआराधना गरिन्छ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो। आज छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदैछ। नवरात्रका बाँकी दिनमा क्रमशः कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिने परम्परा छ।

nawajiwan
pk & Lotus

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको श्रद्धापूर्वक आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, रक्तकाली र बगलामुखीलगायत मन्दिरमा भक्तजनले पूजा आराधना गर्ने गरेका छन्।
त्यसैगरी, उपत्यकाबाहिरका मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा विशेष पूजा आराधना गरिन्छ।

नवरात्रमा पूजा गरिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। कतिपय स्थानमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले धार्मिक आस्था, परम्परा र पारिवारिक मिलनको प्रतीकका रूपमा बडादसैँलाई हर्षोल्लासका साथ मनाउने गर्छन्।

Dhnagadhi & Krishanapur