
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा बदली हुने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।


देशका हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


































