
कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। चिकित्सा शिक्षा आयोगको यो निर्णयसँगै सुदूरपश्चिमका विद्यार्थीले आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउने भएका छन्।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले शैक्षिक सत्र २०८३/०८४ का लागि देशभरका ८४ वटा शिक्षण संस्थामा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्ने निर्णय गरेको हो।
आयोगले यस वर्ष समग्रमा ४१८ सिट वृद्धि गरेको छ। एमबीबीएसतर्फ मात्रै ११० सिट थप गरिएको छ। जसअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट प्राप्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा ३०–३० सिट थप गरिएको छ।
त्यस्तै, बिएससी नर्सिङतर्फ २१० र बिएनएसतर्फ ९८ सिट वृद्धि गरिएको छ। देशभरका ९० शिक्षण संस्थाले सिट माग गरेकोमा ८४ वटालाई मात्रै सिट स्वीकृत गरिएको आयोगका सदस्य सचिव हरि निरौलाले बताएका छन्।


सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसका ५० सिट निर्धारण हुनुले सुदूरपश्चिममा चिकित्सा शिक्षा विस्तारको नयाँ अवसर सिर्जना गरेको छ। यसबाट प्रदेशका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि अन्य प्रदेशमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


































