
नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीको मान्यता पाएको जानकारी दिएको हो।

यसअघिका दुई संस्करणमा आईसीसीको आधिकारिक मान्यता नपाएको एनपीएलले तेस्रो संस्करणअघि मान्यता प्राप्त गरेसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय मान्यता र विदेशी खेलाडी अनुबन्ध प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।
मान्यता प्राप्त भएसँगै एनपीएलका फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्दा यसअघि लगाइएका सीमितताबाट छुटकारा पाउनेछन्। यसअघि आईसीसीले एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा चार खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति दिएको थियो। अब भने विदेशी खेलाडी अनुबन्धको संख्यामा त्यस्तो सीमा नलाग्ने जनाइएको छ।



यसले प्रतियोगितामा विभिन्न देशका खेलाडीको सहभागिता बढाउन तथा लिगको प्रतिस्पर्धात्मक स्तर थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग खेल्ने र अनुभव साटासाट गर्ने अवसरसमेत प्रदान गर्नेछ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


































