
धनगढीः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चारवटा शैक्षिक कार्यक्रममा सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बाटो खुलेको हो।

विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दका अनुसार आयोगको शैक्षिक क्यालेन्डरअनुसार माघको अन्तिम सातादेखि कक्षा सञ्चालन हुनेछ। आयोगले एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट निर्धारण गरेको छ। चारवटै कार्यक्रममा पहिलो शैक्षिक सत्रमा कुल ९० विद्यार्थीले अध्ययन गर्ने अवसर पाउनेछन्।
एमबीबीएसमा सिट निर्धारण हुनु विश्वविद्यालयसँगै सुदूरपश्चिमको स्वास्थ्य शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको रजिस्ट्रार चन्दले बताए। यसले प्रदेशमै चिकित्सक उत्पादनको आधार तयार गर्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवामा दक्ष जनशक्तिको उपलब्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



विश्वविद्यालयले चिकित्सा शिक्षाको अध्यापनसँगै शिक्षण अस्पतालको सेवा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। यसै वर्षदेखि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने र ५०० शय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने तयारी भइरहेको चन्दले जानकारी दिए।
उनका अनुसार अस्पतालमा ६२२ शय्याका लागि बेड जडान भइसकेका छन्। अस्पतालमा आधुनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा विस्तार गर्ने योजनाअन्तर्गत सिटी स्क्यान, एमआरआई र क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ।
विश्वविद्यालयमा चिकित्सा शिक्षाको अध्यापन र अस्पतालको सेवा विस्तारसँगै सुदूरपश्चिमका नागरिकले आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवसर बढ्ने अपेक्षा गरिएको छ।

































