
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार राति करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा मृत्यु भएका तीनै महिलाको शव घटनास्थलबाट फेला परे पनि सनाखत हुन सकेको छैन। घाइते चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको प्रहरीले जनाएको छ।



घाइते हुनेमा ओखलढुङ्गाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङ दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



































