
दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन गरिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको सार्वजनिक बिदा परेकाले निर्धारित तालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न नसकिने भएपछि मिति सारिएको विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ।



विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन, आँखासम्बन्धी समस्या तथा रोगसँग लड्ने क्षमता कमजोर हुने जोखिम घटाउन र जुकाको संक्रमणबाट हुने स्वास्थ्य समस्याबाट जोगाउन सरकारले यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि कार्यक्रम प्रभावकारी बनाउन अभिभावकको सहभागिता महत्त्वपूर्ण हुने जनाएको छ।



































