
आज शारदीय नवरात्रको नवौँ दिन अर्थात् महानवमी हो। यस दिन नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा, आराधना र उपासना गरिन्छ। धार्मिक मान्यताअनुसार, श्रद्धा र पूर्ण निष्ठाका साथ देवीको साधना गर्नाले भक्तजनले विभिन्न प्रकारका सिद्धि प्राप्त गर्नुका साथै जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्न सक्छन्।

‘सिद्धि’ भन्नाले आध्यात्मिक शक्ति वा उपलब्धि र ‘दात्री’ भन्नाले प्रदान गर्ने भन्ने अर्थ बुझिन्छ। त्यसैले देवी सिद्धिदात्रीलाई आफ्ना भक्तलाई विभिन्न सिद्धि प्रदान गर्ने शक्तिस्वरूपाका रूपमा पूजा गरिन्छ।
धार्मिक वर्णनअनुसार, देवी सिद्धिदात्रीले दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा कमलको फूल र शङ्ख धारण गर्नुभएको छ। उहाँको वाहन सिंह हो भने उहाँ कमलको फूलमा विराजमान हुनुहुन्छ। नवरात्रको नवौँ दिन उहाँको पूजा गर्नाले मनोकामना पूरा हुने र आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ।







































