
साउदी अरबः साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर दुःख व्यक्त गरेको छ। कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निन्दा गरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक गतिविधि मानवता र मानवीय मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ।
नेपालसँग प्रत्यक्ष सम्बन्ध नरहेको बाह्य द्वन्द्वमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको कांग्रेसले जनाएको छ।




नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि एक जना नेपालीको समेत अनाहकमा ज्यान गुम्नु पीडादायी भएको बताउँदै दिवंगत नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सभापति थापाले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग थप गम्भीर पहल गर्न आग्रह गरेका छन्। उनले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र आवश्यक परे साउदी अरबमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्ने व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।



































