
बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेका सर्वसाधारण आफन्तको घरमा पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।

नेपाली परम्पराअनुसार विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। यस अवधिमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका लगाएर सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद लिने चलन छ।
दसैँलाई परिवार तथा आफन्तबीच भेटघाट, आत्मीयता र पुनर्मिलनको महत्त्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ। टाढा रहेका आफन्तसमेत घर फर्किने र एकअर्कासँग खुसी साटासाट गर्ने भएकाले यस पर्वले पारिवारिक सम्बन्ध, आपसी सद्भाव र भाइचारा प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास गरिन्छ।




मान्यजनबाट टीका र जमरा लगाउन जाने तथा आफन्तसँग भेटघाट गर्नेहरूको आवागमन बढेसँगै सडक र सहर बजारमा सर्वसाधारणको चहलपहल पनि बढेको छ।
यसैबीच, दसैँ मनाउन सदरमुकाम तथा ठूला सहरबाट गाउँघर पुगेका सर्वसाधारण पुनः आफ्नो कार्यस्थल र गन्तव्यतर्फ फर्किन थालेका छन्। चाडपर्वको बिदा सकिँदै जाँदा सहर फर्किनेहरूको चहलपहलसमेत बढ्न थालेको छ।



































