
कैलालीः वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरूको लर्को लागिरहेका बेला कैलालीको कैलारी गाउँपालिका–७, छटकपुर बसन्ताका पञ्चराम चौधरी भने गाउँमै माछापालन गरेर सफल कृषकका रूपमा स्थापित भएका छन्। एक दशकदेखि यस व्यवसायमा सक्रिय चौधरीले ६ बिघा क्षेत्रफलमा फैलिएका पोखरीमा करिब ६० हजार माछाका भुरा हुर्काइरहेका छन्।

स्थानीयस्तरमा माछाको माग र व्यावसायिक सम्भावना देखेर माछापालन सुरु गरेका चौधरीका लागि अहिले यही व्यवसाय परिवारको मुख्य आयआर्जनको माध्यम बनेको छ। उनले रहु, नैनी, बिगहेड, ग्रास कार्प, कमन कार्प र जिल्बरलगायत विभिन्न जातका माछा पाल्दै आएका छन्। उनका पोखरीमा हुर्काइएका माछा साढे दुई किलोसम्मका हुने गरेका छन्। उत्पादनले स्थानीय गाउँघरदेखि कैलालीका विभिन्न बजारसम्म बजार पाउँदै आएको छ।
परिवारका सदस्यसँग मिलेर व्यवसाय सञ्चालन गरिरहेका चौधरीले सरकारी अनुदानसमेत प्राप्त गर्दै आएका छन्। उनले सुरुमा दुईपटक माछापालनसम्बन्धी तालिम लिएर प्राविधिक ज्ञान र सीप हासिल गरेका थिए। सोही अनुभवलाई व्यवहारमा उतार्दै व्यवसाय विस्तार गरेका उनी अहिले अन्य कृषकलाई समेत माछापालनसम्बन्धी तालिम दिँदै आएका छन्।




यद्यपि, माछापालनमा बाढी र बढ्दो उत्पादन लागत मुख्य चुनौतीका रूपमा रहेका छन्। बर्खायाममा आउने बाढीले पोखरी तथा माछामा क्षति पुर्याउने जोखिम रहन्छ भने माछाको दानाको महँगो मूल्यले खर्च बढाउने गरेको चौधरी बताउँछन्।
व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सरकारले माछाको दानामा सहुलियत उपलब्ध गराउनुपर्ने उनको माग छ। दानामा अनुदान वा सहुलियत पाए उत्पादन बढाउन र थप लगानी गर्न सहज हुने उनको विश्वास छ।
विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै गाउँमा सम्भावना पहिचान गरी कृषि उद्यममा लागेका चौधरी स्थानीय स्रोत, सीप र मेहनतको सदुपयोगबाट गाउँमै बसेर पनि आर्थिक सफलता हासिल गर्न सकिने उदाहरण बनेका छन्। आगामी दिनमा माछापालन व्यवसायलाई अझ विस्तार गर्ने उनको योजना छ।



































