
मौसमविद्हरूले वर्षाको सम्भावना रहेकाले धान काट्ने तयारीमा रहेका किसानलाई कात्तिक १२ गतेदेखि १४ गतेसम्म धान नकाट्न सुझाव दिएका छन्। बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीका कारण वर्षा र झरी पर्ने सम्भावना रहेकाले किसानलाई सतर्क रहन आग्रह गरिएको हो।

मौसमविद्हरूका अनुसार उक्त प्रणालीको प्रभावले विभिन्न स्थानमा सामान्यदेखि भारी वर्षा हुन सक्नेछ। निरन्तर झरीसँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेकाले धान काट्ने तथा भित्र्याउने काममा समस्या आउन सक्ने अनुमान गरिएको छ।
किसानले मौसमको अवस्था हेरेर धान काट्ने र भित्र्याउने काम समयमै सम्पन्न गर्नुपर्ने सुझाव दिइएको छ। सम्भव भएसम्म वर्षा सुरु हुनुअघि नै काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न र खेतमा रहेको बाली जोगाउन आवश्यक तयारी गर्न आग्रह गरिएको छ।




त्यस्तै, हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रुलाई पनि मौसम प्रतिकूल हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिइएको छ। यात्रा गर्नैपर्ने अवस्था आएमा मौसमको पूर्वानुमान बुझेर आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
सम्भावित वर्षाबाट कृषि उपजमा हुन सक्ने क्षति न्यूनीकरण गर्न किसानले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिनु आवश्यक रहेको छ।


































