
बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना देखिएपछि नेपालमा पनि यसको प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार विशेष मौसमी बुलेटिन जारी गर्दै आगामी सातादेखि मौसम प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको थियो। उक्त प्रणाली क्रमशः शक्तिशाली बन्दै आगामी सोमबारसम्म चक्रवातमा परिणत हुन सक्ने पूर्वानुमान गरिएको छ।
उक्त चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ। भारतको तटीय क्षेत्रमा प्रवेश गर्ने यस प्रणालीको प्रभाव नेपालमा पनि पर्ने अनुमान गरिएको छ।




महाशाखाले जारी गरेको ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन–१’ अनुसार कार्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा मौसमी प्रभाव देखिन सक्छ। यद्यपि, यस अवधिमा कति वर्षा हुन्छ, कुन क्षेत्रमा बढी असर पर्छ र जोखिमको अवस्था कस्तो रहन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ।
मौसममा सम्भावित परिवर्तनले विशेषगरी कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने देखिएको छ। धानलगायतका बाली भित्र्याउने समयमा वर्षा भएमा कृषि उत्पादनमा क्षति पुग्न सक्ने भएकाले किसानलाई पूर्वतयारी अपनाउन आग्रह गरिएको छ। त्यस्तै, घुमफिर तथा पर्यटन गतिविधिमा संलग्न व्यक्तिहरूलाई पनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।
मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। चक्रवातको विकासक्रम र नेपालमा पर्न सक्ने प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार नयाँ सूचना जारी गरिने महाशाखाले जनाएको छ। त्यसैले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आधिकारिक मौसमी सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।



































