
रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न तथा आगामी महिना नयाँ चरणको शान्ति वार्तामा बस्न सहमत भएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा उक्त सहमति जुटेको जनाइएको छ।

ह्वाइट हाउसका अनुसार युद्ध सुरु हुनुअघि करिब २४ हजार जनसङ्ख्या रहेको ओलेस्की सहरमा अहिले १ हजार ७ सयदेखि २ हजार मानिस मात्र बाँकी छन्। युद्धका कारण सहरको जनजीवन प्रभावित हुनुका साथै सर्वसाधारणको सुरक्षित बसोबास र मानवीय सहायतामा चुनौती थपिएको छ।
दुवै पक्षका अनुसार अक्टोबर २७ देखि युद्धविराम लागू हुनेछ। यसले प्रभावित क्षेत्रमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक मानवीय सहायता पुर्याउन सहज बनाउने अपेक्षा गरिएको छ। साथै, मानवीय करिडोरमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ।




अमेरिकी अधिकारीहरूका अनुसार रुस र युक्रेनबीचको आगामी त्रिपक्षीय वार्ता केही साताभित्र संयुक्त अरब इमिरेट्सको आबु धाबी वा स्विट्जरल्याण्डमा हुन सक्नेछ। वार्तामा युद्ध अन्त्य गर्ने सम्भावना तथा शान्ति स्थापनाका उपायबारे छलफल हुने अपेक्षा गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शान्ति वार्ताकारहरू आगामी महिना छलफलको नयाँ चरणका लागि भेट्ने पुष्टि गरेका छन्। यद्यपि, युद्धविराम कति प्रभावकारी हुन्छ र यसले समग्र युद्ध अन्त्यका लागि कस्तो आधार तयार गर्छ भन्ने विषय आगामी वार्ताले स्पष्ट पार्नेछ।

































