
बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ। शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट लडेर गम्भीर घाइते भएका थिए।

भिरबाट खसेर चट्टानमा बजारिएका उनको उद्धारको तयारी भइरहेकै बेला मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनलाई उद्धार गर्न आवश्यक पहल भइरहेको थियो। आफन्त रामचन्द्र जोशीका अनुसार हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि हेलिकोप्टर उड्नुअघि नै उनको मृत्यु भएको थियो।
टंक जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी लगातार दुई कार्यकाल वडाध्यक्ष बनेका थिए। स्वर्गीय जोशीका श्रीमती, दुई छोरा र एक छोरी छन्।







































