
धनगढीः कैलाली र कञ्चनपुरबाट काठमाडौँ, बुटवललगायतका गन्तव्यमा जाने लामो दूरीका यात्रुवाहक बसमा यात्रा गर्ने यात्रुहरू बर्दियाको भुरीगाउँ क्षेत्रमा खाना खान रोकिँदा गुणस्तरहीन र स्वादहीन खाना खान बाध्य भएको गुनासो गरेका छन् । रातिको समयमा नजिकै अन्य होटलको विकल्प नहुँदा यात्रुहरूले महँगो मूल्य तिरेर पनि चित्तबुझ्दो खाना खान नपाएको बताएका छन् ।

धनगढी तथा महेन्द्रनगरबाट छुट्ने अधिकांश लामो दूरीका बसहरू भुरीगाउँ क्षेत्रमा खाना खान रोकिँदै आएका छन् । तर, त्यहाँको होटलमा पाइने खानाको स्वाद, गुणस्तर र मूल्यप्रति यात्रुहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यात्रुहरूका अनुसार भात अस्वाभाविक रूपमा फरर परेको, खानामा स्वाद नभएको र तिर्ने मूल्यअनुसारको गुणस्तर नपाएको गुनासो छ ।
यात्रु ज्ञानु न्यौपानेले बाध्यताका कारण नमिठो खाना खानुपरेको बताए । गन्तव्यतर्फ लामो यात्रा गरिरहेका यात्रुहरूलाई बाटोमै खाना मन नपरेको विषयमा गुनासो गर्न र विकल्प खोज्नसमेत कठिन हुने उनको भनाइ छ ।




“हामी आफ्नो गन्तव्यतर्फ हिँडिरहेका हुन्छौँ । बाटोमा खाना नमिठो भयो भनेर कसलाई भन्ने ? कससँग विवाद गर्ने ? यस्तो विषयमा सम्बन्धित प्रशासनले ध्यान दिनुपर्छ,” न्यौपानेले भने ।
उनका अनुसार यात्रुहरूले बस चालकलाई समेत खानाको गुणस्तरबारे गुनासो गर्ने गरेका छन् । तर, रातिको समयमा अन्य होटलको विकल्प सहज नहुँदा यात्रुहरू उपलब्ध खानामै चित्त बुझाउन बाध्य छन् ।
त्यस्तै, बुटवलसम्मको यात्रा गरिरहेकी आशिका अधिकारीले पनि भुरीगाउँको होटलमा पाइने खानाको गुणस्तरप्रति असन्तुष्टि जनाइन् । उनका अनुसार उक्त क्षेत्रमा रोकिँदा खानामा स्वाद नहुने समस्या पटक–पटक भोग्नुपरेको छ ।
“जहिले यात्रा गर्दा पनि भुरीगाउँकै होटलमा रोक्ने गरिन्छ । खानामा कुनै स्वाद हुँदैन । गुणस्तरीय खाना खान कहिले पाइएन,” अधिकारीले भनिन् । उनले यात्रुहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताइन् ।
चालक र सहचालकको सुविधाले यात्रु मारमा परेको आरोप
यात्रुहरूलाई एउटै होटलमा खाना खान रोक्ने प्रवृत्तिबारे विभिन्न प्रश्न उठिरहेका छन् । स्रोतका अनुसार केही होटलले बस चालक तथा सहचालकलाई खानाको व्यवस्था र भत्तासमेत उपलब्ध गराउने भएकाले यात्रुहरूलाई निश्चित होटलमा लैजाने गरेको आरोप छ । यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यदि चालक तथा सहचालकले पाउने सुविधा र होटलसँगको व्यवस्थाका कारण यात्रुलाई एउटै होटलमा रोक्ने गरिएको हो भने त्यसले यात्रुको छनोट र खानाको गुणस्तरमा प्रत्यक्ष असर पार्न सक्छ । यात्रुलाई उचित विकल्प नदिई महँगो मूल्यमा गुणस्तरहीन खाना खान बाध्य पार्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
अनुगमन प्रभावकारी नहुँदा यात्रुको गुनासो यथावत्
लामो दूरीका यात्रुवाहक सवारीसाधनले खाना खान रोक्ने होटलहरूमा अनुगमन गर्नुपर्ने माग उठ्दै आए पनि यात्रुका यस्ता गुनासो समाधान हुन नसकेको बताइएको छ । होटलमा सरसफाइ, खाद्य पदार्थको गुणस्तर, खाना पकाउने तरिका र मूल्यसूचीको नियमित जाँच आवश्यक देखिएको छ ।
यसका लागि बर्दियास्थित सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकाय, स्थानीय तह र यातायात व्यवसायीहरूले समन्वय गरी प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता छ ।
विशेषगरी रातिको समयमा लामो दूरीको यात्रा गर्ने यात्रुहरू होटल सञ्चालकको सेवा र उपलब्ध खानामै निर्भर हुनुपर्ने अवस्था रहेकाले त्यस्ता होटलमा खाद्य स्वच्छता र मूल्यसम्बन्धी मापदण्डको पालना भए–नभएको जाँच गर्नुपर्ने देखिन्छ ।
यात्रुहरूलाई खाना खुवाउने होटलले लिएको मूल्यअनुसारको गुणस्तर कायम गर्नुपर्छ । खानाको गुणस्तर र सरसफाइमा लापरबाही भए त्यसले यात्रुको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले नियमित निरीक्षण गर्नुपर्ने जानकारहरूको सुझाव छ ।
सुदूरपश्चिमका पहाडी रुटका होटलमा पनि अनुगमन आवश्यक
धनगढी र महेन्द्रनगरबाट छुटेर सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने यात्रुवाहक सवारीसाधनहरू बाटोमा खाना खान रोक्ने होटलहरूमा समेत अनुगमन गर्नुपर्ने आवाज उठेको छ । लामो दूरीका यात्रुहरूको स्वास्थ्य र सुविधासँग प्रत्यक्ष जोडिएको विषय भएकाले कुनै एउटा क्षेत्रका होटलमा मात्र नभई विभिन्न रुटका होटलमा समेत अनुगमन आवश्यक देखिन्छ ।
यात्रुहरूबाट बारम्बार गुनासो आए पनि सम्बन्धित निकायले चासो नदिने हो भने गुणस्तरहीन खाना र महँगो मूल्यको समस्या दोहोरिरहने जोखिम छ । त्यसैले भुरीगाउँ क्षेत्रमा यात्रुवाहक बसहरू रोक्ने होटलहरूको निष्पक्ष अनुगमन गरी खानाको गुणस्तर, सरसफाइ र मूल्यको अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ ।
यात्रुले पैसा तिरेपछि सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना पाउनु सामान्य अधिकारको विषय हो । यात्रुको बाध्यतालाई व्यवसायको अवसर बनाउने प्रवृत्ति रोक्न अनुगमन प्रभावकारी बनाउने जिम्मेवारी सम्बन्धित निकायको हो ।


































