
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको सरकार, बढ्दो महँगी र सामाजिक असमानताको विरोधमा शनिबार देशभर हजारौँ नागरिक सडकमा उत्रिएका छन्। विभिन्न सहरमा भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न हुँदा १३५ जनालाई पक्राउ गरिएको गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।

गत साता भएका हिंसा, लुटपाट र आगजनीलाई ध्यानमा राख्दै सरकारले पेरिस, मार्सेली र लियोनलगायत प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा बनाएको छ। गृहमन्त्रीका अनुसार शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए।
पेरिसमा अनुमति प्राप्त मार्गमा शान्तिपूर्ण र्याली निकालिए पनि नान्टेस र लियोनमा निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। जिरोन्ड क्षेत्रमा चेकजाँचका क्रममा खतरनाक वस्तुसहित १३ जना नियन्त्रणमा लिइएको जनाइएको छ।




प्रदर्शनकारीहरूले सरकारले जनताको आवाज नसुनेको, करको बोझ बढाएको र धनी वर्गलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। युवा पुस्ताले रोजगारीको अभाव, कमजोर शिक्षा प्रणाली र सरकारी बेवास्ताप्रति असन्तुष्टि जनाएका छन्।
वामपन्थी नेता जिन-लुक मेलेनचोन पनि पेरिसको प्रदर्शनमा सहभागी हुँदै जनताको माग सम्बोधन गर्न राष्ट्रपति म्याक्रोनलाई आग्रह गरेका छन्।
यसअघि गत साता भएका प्रदर्शनका क्रममा दुई हजार सात सयभन्दा बढी पक्राउ परेका थिए। आन्दोलनको प्रभाव छिमेकी युरोपेली मुलुकमा समेत देखिन थालेको छ। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै इटालीको मिलानमा पनि सुरक्षा सतर्कता बढाइएको छ।


































