
नेपालीले श्रद्धा, आस्था र उल्लासका साथ मनाउने बडादशैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्ष आज आश्विन शुक्ल पूर्णिमाका दिन सम्पन्नताको प्रतीक देवी महालक्ष्मीको पूजा–आराधना र रातभर जाग्राम बसेपछि विधिवत् रूपमा बिदा हुनेछ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज साँझ घरघरमा महालक्ष्मीको पूजा गर्ने, दीप प्रज्वलन गर्ने र रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार यस रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने विश्वास गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार यही धार्मिक विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने परम्परा रहिआएको छ। माता दुर्गाका प्रमुख तीन स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये आज विशेषगरी महालक्ष्मीको आराधना गरी दुर्गा पक्षलाई बिदाइ गरिन्छ।




नवरात्रको धार्मिक अनुष्ठान विजयादशमीका दिन सम्पन्न हुने भए पनि समग्र दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै समाप्त हुने मान्यता छ। त्यसैले बडादशैँको सुरुवातदेखि चल्दै आएका धार्मिक गतिविधिको समापनका रूपमा यस दिनलाई विशेष महत्त्वका साथ लिइन्छ। यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ।
आज बिहानै दसैँघरमा राखिएका फूलप्रसाद तथा जमराका अवशेषलाई नजिकैको नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकीसम्म अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसादका रूपमा दसैँको टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ।
यसैबीच, भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुनेछ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो समयलाई बडादशैँको बिदाइसँगै तिहारको तयारी सुरु हुने चरणका रूपमा समेत लिने गरिन्छ। यसरी कोजाग्रत पूर्णिमाले नेपालीको महान् पर्व बडादशैँलाई औपचारिक रूपमा समापन गर्दै आगामी चाडपर्वको उल्लासलाई निरन्तरता दिनेछ।



































