
दसैँपछिको पहिलो कारोबारमै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ रहेको थियो। दसैँपछि कारोबार सुरु हुँदा मूल्यमा उल्लेख्य गिरावट देखिएको हो। यससँगै सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदी आइतबार घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको छ। चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि यो मूल्य ३ हजार ५५८ रुपैयाँ थियो। सुनचाँदीको मूल्यमा आएको गिरावटले उपभोक्ताको ध्यान बजारतर्फ तानेको छ।







































