
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सर्टले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। आसिफले ३२ रन बनाए।
निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन १ रनमा आउट भए। कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।




त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा अविजित रहे भने सैफ जैबले १३ र विनोद भण्डारीले ९ रन जोडे। ब्रान्डन म्याकमुलेनले २, इशान पाण्डेले ७ र शेर्फन रदरफोर्डले १ रन बनाए। स्कट कुगेलेइन र हेमन्त धामीले खाता खोल्न सकेनन्।
सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट हात पारे।
खेलमा नेपालमा पहिलो पटक प्रयोग गरिएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) पनि चर्चामा रह्यो। दोस्रो ओभरको अन्तिम बलमा शेर मल्लले एलबीडब्लु अपिल गर्दा अम्पायरले आउट दिएनन्। त्यसपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिए पनि निर्णय आफ्नो पक्षमा पार्न सकेनन्।
यसैबीच, मंगलबार एनपीएलमा दुई खेल हुनेछन्। दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।



































