
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो दिन सोमबार एकमात्र खेल भएकोमा दोस्रो दिन बिहान र साँझ गरी दुई खेल हुन लागेका हुन्। आजको पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। आजका दुवै खेलमा पनि टोलीहरू जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्यसहित मैदान उत्रिनेछन्।
पहिलो खेलमा विराटनगर र चितवनको प्रतिस्पर्धा
मंगलबार बिहान हुने पहिलो खेलमा सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्नेछ। दुवै टोलीमा अनुभवी नेपाली तथा विदेशी खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायत नेपाली खेलाडी छन्। त्यस्तै, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख, प्रतिक श्रेष्ठ र शुभम रन्जानेजस्ता खेलाडीले पनि विराटनगरबाट खेल्नेछन्।
यता, चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, विवेक यादव, मौसम ढकाल र विपिन रावललगायत खेलाडी छन्। विदेशी खेलाडीमा रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली, सलाहुद्दिन खान र उसामा मीर रहेका छन्।
साँझ जनकपुर र कर्णालीबीच भिडन्त
मंगलबार साँझ हुने दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।
जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, रित गौतम र सन्तोष कार्कीलगायत खेलाडी छन्। त्यस्तै, जिमी निशम, मोइन अली र इफ्तिकार अहमदजस्ता विदेशी खेलाडी पनि जनकपुरको टोलीमा समावेश छन्।
कर्णाली याक्समा कप्तान सोमपाल कामीसँगै डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, शुभ कंसाकार, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुनलगायत खेलाडी छन्। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहनेछन्।
कात्तिक २९ सम्म समूह चरणका खेल
सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ। मंसिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ।
मंसिर ३ गते पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। प्रतियोगिताको फाइनल खेल भने मंसिर ५ गते आयोजना हुने तालिका छ।



































