
अत्तरियाः कैलालीको अत्तरियामा सञ्चालित कैलाली जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसनको फाइनल कार्तिक १४ गते हुने भएको छ। वन वे डान्स क्याम्पको आयोजनामा गत साउन ८ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तिम चरणमा पुगेको हो।

वन वे डान्स क्याम्पका सञ्चालक नरेश विकका अनुसार प्रतियोगिताको तेस्रो संस्करणमा जिल्लाभरबाट करिब ६ सय जना प्रतिस्पर्धी सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै १६ जना प्रतिस्पर्धी फाइनलका लागि छनोट भएका छन्। उनीहरूबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा सहभागीहरूले मेगा राउन्ड, कोरियोग्राफी राउन्ड, युनिक राउन्ड तथा तीनवटा भोटिङ राउन्ड पार गरेका थिए। फाइनलमा पुगेका १६ जनामध्येबाट शतप्रतिशत भोटिङका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ।




अत्तरियाका अग्रज कलाकार विनोद मल्लले यस्ता प्रतियोगिताले स्थानीय नृत्य प्रतिभाको आत्मविश्वास बढाउनुका साथै आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताए। जिल्ला स्तरीय प्रतियोगिताले नयाँ प्रतिभालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार १५१ रुपैयाँ, द्वितीय हुनेले ३० हजार १५१ रुपैयाँ र तृतीय हुनेले २० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ।
फाइनलका लागि छनोट भएका १६ जना प्रतिस्पर्धीलाई आयोजक वन वे डान्स क्याम्पले निःशुल्क नृत्य प्रशिक्षणसमेत प्रदान गरेको जनाएको छ।



































